Thursday, May 4, 2017

भीमलाई येदिङमा फेरि स्वर्ण

चीनको सिचुआनमा भएको येदिङ स्काइरनमा स्वर्ण जितेपछि नेपाली धावक भीम गुरुङ । तस्बिर सौजन्य स् स्काइरनर
वैशाख २१, २०७४( अल्ट्रा धावक भीम गुरुङले स्काइरनर वर्ल्ड सिरिजअन्तर्गत चीनको सिचुआनमा भएको ‘येदिङ स्काइरन’ को उपाधि रक्षा गरेका छन् । उनले तीन घण्टा ६ मिनेट ५१ सेकेन्डमा २९ किमि पूरा गर्दै मंगलबार स्वर्णपदक हात पारेका हुन् ।

स्काइरनर वर्ल्ड सिरिजको रेसमा उपाधि रक्षा गर्ने उनी पहिलो नेपाली धावक हुन् । स्काइरनर वर्ल्ड सिरिजमा यो उनको तेस्रो उपाधि हो । उनले गत वर्ष इटालीमा भएको ट्रोफियो किमामा पनि स्वर्ण जितेका थिए । तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन (सन् २०१५) मा पनि च्याम्पियन भएका उनले ६ प्रतिष्ठित रेसमा स्वर्ण जितेका छन् ।

नेपाली सेनामा आवद्ध भीमले यसपालि येदिङमा चीनका एन्डी वाकरलाई १ मिनेट ३२ सकेन्डले पछाडि पार्दै स्वर्ण हात पारेका हुन् । समुद्री सतहबाट ४ हजार ६ सय मिटरसम्म कोर्समा आयोजित उक्त रेस १ सय ३२ धावकले पूरा गरेका थिए । उनले २ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।

१३ वर्षयता साहसिक दौडमा सहभागी हुँदै आएका गोरखाका भीमले गत वर्ष ३ घण्टा २० मिनेट ३० सेकेन्डमा दौड पूरा गर्दै अविश्वसनीय रूपमा स्वर्ण जितेका थिए । उनी चैतमा युरोपमा भएको नर्थ–पोल म्याराथन (विश्वकै चिसो स्थानमा हुने दौड) मा दोस्रो भएका थिए ।

उनीसहित येदिङमा तीन नेपाली धावक सहभागी थिए । सुनमाया बूढा ४ घण्टा २९ मिनेट ८ सेकेन्डसाथ महिलातर्फ चौथोमा रहिन् भने पूर्णलक्ष्मी नेउपाने (४ घण्टा ३३ मिनेट ४६ सेकेन्ड) पाँचौं भइन् ।

अमेरिकी धाविका मेगन किमेलले पनि लगातार दोस्रोपल्ट महिलातर्फको स्वर्ण पदक हात पारिन् । उनले ३ घण्टा ३३ मिनेट ५५ सेकेन्ड लगाइन् । महिलातर्फ ७५ जनाले दौड पूरा गरेका थिए ।

Unknown

About Unknown

Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.

Subscribe to this Blog via Email :